बेलायती उदारवादी दार्शनिक John Stuart Mill  ले आफ्ना दर्शनद्धारा १९औ शताब्दिको राजनीतिक विचारधाराको इतिहासमा छुट्टै पहिचान वनाएका थिए । सामान्य जनताहरुमा दुरदृस्टि (Farsightedness)  हुदैन र उनीहरु आन्दोलनमा सजिलै परिचालित हुन्छन भन्दै राजतन्त्रात्मक तानाशाह (Monarchical Despot)  भन्दा निर्वाचित तानाशाह ( Democratic Despot) वढी खतराजनक हुन्छन भन्ने उन्को भनाइ विश्व राजनीतिक इतिहासमा यर्थाथ सावित हुन पुगेको पाइन्छ । प्रजातन्त्रआउने वित्तिकै छु मन्तर गर्दा आर्थिक समृध्दि आउछ भन्ने विश्वाशमा त्यस्को प्राप्तिका लागि जनताहरु आन्दोलित हुन पुग्छन जस्ले निर्वाचित तानाशाहलाई जन्माउछ जस्को अवशान सजिलै हुदैन भन्ने उन्को वलियो तर्क रहेको छ ।

नेपालकै कुरा गर्ने हो भने पनि यहा राणाकाल देखि हालसम्म ७ वटा संविधान आए, निरंकूश तन्त्र देखि संवैधानिक राजतन्त्र हुदै देश संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आउदा नेताहरुले भनेको जस्तो समृध्दि किन आएन त ? एसियामै भन्ने हो भने चीनमा तथाकथित बहुदलीय प्रजातन्त्र नभएको अवस्थामै पनि त्यस देशले दशौ करोडको सख्यामा रहेको गरिवी निवारण गर्दै विश्व आर्थिक शक्ति वन्यो, सिंगापुर र मलेसियालाई निर्वाचित तानाशाह लि क्वान र महाथिरले समृध्द वनाए भने श्री लंका र वांग्लादेशमा निर्वाचित तानाशाहहरु असफल हुदा देशनै छोडेर भाग्नु पर्ने परिस्थिति पनि आयो ।

नेपालमा त गणतन्त्र यति गन्हायो कि अव जनताहरु वरु पंचायती एकतन्त्रनै ठीक रहेछ, राजाकै नेतृत्व चाहिने रहेछ भनेर आन्दोलित हुने स्थितिको विकाश भइरहेछ । तर आन्दोलनलाई कुन ढांचामा सफलता तर्फ मोड्ने भन्ने कुरा अनुत्तरित रहेको कारण केपी, प्रचण्ड, शेर, माधव, झलनाथ अनि वावुराम जस्ता ब्यवस्थानै विकृत वनाउने तत्वहरु सजिलै मासिने देखिदैन । गणतन्त्रको विरुध्द आन्दोलन चर्काउन चहानेहरु जुंगाको लडाइको कारण एकत्रित हुन सकिरहेका छैनन भने गणतन्त्रको नाममा देशलुटने भ्रष्ट र राष्ट्रघाती तानाशाहहरु आपसी वैरभाव विर्सेर एक हुन गइरहेका छन् । एसियाको दुइ शक्तिशाली राष्ट्र चीन र भारतको वीच रहेको यो सानो देश नेपाल भूराजनीतिक भूवरीमा पहिले देखिनै पर्दै आएको हो ।

छिमेकीको संलग्नता विना न ७ साल न १७ साल न ४६ साल न ६२ साल कुनैपनि आन्दोलनहरु आफ्नै बुतामा सफल भएनन । यसो हुनुमाMill ले भने जस्तै यहाँका जनतामा दुरदृस्टि नभएकै कारणले हो भन्न सकिन्छ । अहिले हिन्दु अधिराज्यको पक्षमा नेपाल जति आन्दोलित छ त्यतिकै आन्दोलित भारत पनि देखिएको छ र यसबाट आफनो दुनो कसरी सोझ्याउने भनेर उ मरिहत्ते गरेर लागि परेको छ ।

सरकारमा वस्ने राजनीतिक दलहरुनै आफ्नो सत्ता लम्बिने वा छोटिने भन्ने वारेका केहि भन्न नसकी भारतको मुख ताकेर वसेका छन् । यद्यपि उनीहरुको रवैया हेर्दा निर्वाचित तानाशाहको प्रवृत्ति देखिएको कुलमानको वर्खास्ति, वालेनप्रति असहयोग र पूर्वराजालाई नजरवन्दमा राख्नु पर्छ भन्ने जस्ता उनीहरुको ब्यवहार र अभिब्यक्तिले प्रमाणित गरिरहेको छ । अर्कोतर्फ आन्दोलनकारीका नेता मानिएका जगमान भद्र अवज्ञा भन्छन, दुर्गा प्रशाइ शशक्त आन्दोलन भन्छन, पूर्वपन्चहरु यसै मौकामा हलो चुनाव चिन्हको प्रचार गरी आन्दोलनबाटै अगाडि वढी ८४ को चुनावमा दुइतिहाइ ल्याएर संविधान संसोधनबाट हिन्दु अधिराज्य स्थापनाको सपना देखिरहेका हुदा उनीहरु एक अर्का प्रति मित्रवत छैनन । सैनिकले कू.. गरेर राजालाइ स्थापित गर्ने अवस्था पनि छैन । वांग्लादेशमा जस्तै सडक आन्दोलनबाट नेता लघारिने स्थिति पनि प्रष्टिएको छैन ।

Mill ले भने जस्तै नेपाली जनतामा दुरदृस्टि नभएमा कतै भारत प्रवृत्ति हावी भई भुटानी मोडेलमा पो देश जान्छ कि भन्ने आशंका वलियो भएर गइरहेको परिप्रेक्ष्यमा निर्वाचित तानाशाहहरु नढल्लान भन्न पनि सकिन्न । तावाबाट उफ्रदा भुंग्रो पर्ने खतरा त्यतिकै छ । सावधान !!!