काठमाडौं - तेस्रो लुम्बिनी पिस म्याराथनको उपाधि भारतीय सेनाका अनिस थापा मगरले जितेका छन्। फोर एट गोर्खा राइफल्सका मगरले ४२ किमि दूरी २ घण्टा २० मिनेट १८ सेकेण्डमा पूरा गरी पहिलो स्थान हासिल गरेका हुन्। उनले ३ लाख ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
त्रिभुवन आर्मी क्लबका सुशिलकुमार शाही २ घण्टा २० मिनेट २५ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो स्थानमा रहे। उनले २ लाख ५० हजार नगद जिते। केन्याका धावक स्टेफेन कोस्गेईले २ घण्टा २० मिनेट ४७ सेकेण्डमा म्याराथन पूरा गरी तेस्रो स्थान प्राप्त गरे। उनलाई १ लाख ५० हजार नगद प्रदान गरिएको थियो।
महिलामा सन्तोषी भइन् पहिलो
२१ किमीको महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले एक घण्टा २० मिनेट ५ सेकेण्डमा दूरी पूरा गरी प्रथम स्थान प्राप्त गरिन्। उनले १ लाख ५० हजार नगद पुरस्कार जितिन्। त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने २ घण्टा २१ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भइन्। उनले १ लाख नगदसहित मेडल प्राप्त गरिन्। चीनकी चेन वेईले २ घण्टा २६ मिनेटमा दूरी पूरा गर्दै तेस्रो स्थान हात पारिन्। उनलाई ८० हजार नगद प्रदान गरिएको थियो।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको यस म्याराथनका विजेताहरूलाई चीनका राजदूत चेन सोङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नगद तथा प्रमाणपत्र वितरण गरेका थिए।
यसैक्रममा, ५ किमी दूरीको छात्र-छात्रा म्याराथन र ३ किमीको वकाथन प्रतियोगितासमेत सम्पन्न भए। दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति तथा ध्यान महोत्सव कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा विभिन्न निकायहरूको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको थियो।



0 comment