म सुदूरपश्चिम विश्व विद्यालयको कानुन संकायमा अध्ययन गरिरहेकी छु । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा बसेर अध्ययन गर्छु । यस ठाउँमा पहिलो पटक बसाइँ गर्दै गर्दा करिब एक महिना सम्म पनि कोठा नपाएर कष्टपुर्ण वातावरण सिर्जना भयो । यो सवालमा त्यतिबेला पनि कुरा उठेको थियो तर मैले आफै नै यो विषयलाई सामान्नीकरण गरेकी थिएँ । नयाँ ठाउँको नयाँ वातावरण बुझ्न भनेर मैले यो विषयलाई त्यति बढवा नदिने निर्णय गरेको थिए । तर जति समय बित्दै गयो त्यति नै विकराल रुप लिने गरेको पाइयो । नयाँ सेमेस्टर भर्ना भए सङ्गै नयाँ भाई वहिनीहरु जुन दलित समुदायबाट प्रतिनिधित्व गर्छन उनिहरुका लागि पनि कष्टपुर्ण वातावरण सिर्जना भएको छ । के सुदूरपश्चिम विश्व विद्यालय दलित समुदायका विद्यार्थीहरुका लागि स्थापना भएको होइन र ? यही प्रश्नले मलाई गाँजीराखेको छ । यदि दलित विद्यार्थीका लागि होइन भने भर्ना किन लियो ? सुदूरपश्चिम विश्व विद्यालय सबैका लागि हो र शिक्षाको हक सबैका लागि हो भने हामीलाई यसतो वातावरण सिर्जना किन ? स्वच्छ वातावरणमा पढ्न पाउनु हाम्रो अधिकार हो कि होइन ? यो समाजले दिएको मानसिक यातनाको जिम्मेवार को ? यो विषयमा यहाँका समाजसेवी , बुद्धिजीवी ,स्थानीय सरकार विश्वविद्यालय अञ्जान भने पक्कै छैन । र पनि मौन किन ?
मलाई लाग्छ विश्वबिद्यालय त्यहाँ हुन्छ जहाँ सम्पुर्ण विद्यार्थीका लागि शिक्षामा सहजीकरण हुन्छ । जहाँ त्यहाको समुदायलाई आवश्यकता हुन्छ । सम्पुर्ण विद्यार्थीका लागि सहजीकरण भैरहदा दलित समुदायका लागि मात्र असहजिकरण किन ?
स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन खोज्दा व्यव्यस्थापन गरिदिने कुरा आउछ । तर गम्भीरतापूर्वक लिएको पाइएन । एक व्यक्तिलाई मात्र व्यवस्थापन गरि यो कुरालाई सामान्नीकरण नगरियोस् । भोलि आउने र आइरहेका दलित समुदायका विद्यार्थीहरुका लागि सहज वातावरण निर्माण होस् । म दलित भएकै कारण कोठा पाउन सकेको छैन । कानुन संकायमा अध्यायनरत म र सो कानुन संकाय मै अध्यायनरत वहिनी हरिना सुनारले दलित भएकै कारण कोठा पाउन नसकेको अवस्था छ । मसँग मेरो भाई पनि छ भने, हरिनासँग उनका एक भाई र एक वहिनी र उनकी आमा रहेका छन ।
दलित र पिछडिएको वर्गका उत्थानको लागि भनेर ल्याएको वर्तमान व्यवस्थाभित्र दलितलाई कसरी विभेदले थिचीरहेको छ भन्ने कुरा मैले भोगिरहेकी छु । संबिधानमा ब्यवस्था गरेको सम्मानताको हक आज हामी दलितका लागि त्यो कागजको खोस्टोमा सिमित भएको छ । कोठा छ भन्दै जाँदा घरबेटि छ भन्छन कोठा देखाउछन जव जात दलित थाहा पाउछन कोठा छैन भन्छन् । हामी अहिले दलित समुदायकै एउटा घरमा बस्दै आइरहेका छौ । यो घरका घरबेटि अहिले महेन्द्रनगर भन्दा बाहिर बस्छन तर अब उनिहरु महेन्द्रनगरमा नै बस्ने भएकाले उनिहरुले कोठा छाड्न भनेपछि हामी कोठा छोड्न लागेका छौ । यस विषयमा न विश्वविद्यालय गम्भीर छ न त यहाँका समाजसेवि बुद्धिजीवी नै जिम्मेवार देखिन्छन । तर यस्ता विषयमा जानकार भने नभएका होइनन् । यहाँ भएको छुवाछूत र विभेदले गर्दा हाम्रो पढन मन मरेर आएको छ । हामीलाई यहि कोठा नपाइएको चिन्ताले थकित बनाएको छ । दिनभरि महेन्द्रनगरका गल्लिगल्लि कोठा खोज्दै भौतारिन्छौ र साझ फेरि भारि मन र थकित शरिर लिएर पूरानै कोठामा फर्किन्छौ । राज्यले समानता भन्छ खै कहाँ छ ? हाम्रो लागि समानता कहाँ छ ? दलितको अधिकार खै ? कहिले सम्म खेप्नु पर्ने हो अझै यी विभेदका पीडाहरु ? व्यवस्था बदलिएपछि मान्छेको चेतनास्तर बदलियो होला जातको आधारमा गरिने विभेद हट्दैछ भन्ने थियो तर व्यवहारत निकै फरक छ । हाम्रो समाजमा जति सुकै पढेका मान्छे भएपनि सामाजिक चेतना भने शुन्य नै रहेछ । जातीय विभेदको असामाजिक व्यवहारको अन्त्य कहिले हुन्छ ? संविधान, कानुन ऐनले सबै किसिमका जातीय विभेदलाई कानुनी रुपमा दण्डनीय मानेको छ । तर समाजमा जातीय विभेद कानुनभन्दा निकै माथी छ । जातीय विभेद हिजो मात्र हैन आज पनि यत्रतत्र सर्वत्र आम दलित समुदायले जातीय विभेदजस्तो अमानवीय अभ्यासको सिकार भइरहेको यो राज्यले चाँडै देखोस् र विभेदकारी मानसिकता परिर्वतनमा सबै पक्षको भूमिका होस् भन्न चाहन्छु ।


0 comment