काठमाडौं- महिला टी- ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको छ । 

९२ रनको लक्ष्य पछ्याएको नेपाल १७. १ ओभर अलआउट हुँदै ५१ रनमात्र बनाउन सक्यो। पाँच खेलमा मात्र दुई अंक जोड्न सफल नेपाल अंकतालिकाको पुछारमा छ।

प्रतियोगितामा नेपालले एकमात्र जित युगान्डासँगको पहिलो भेटमा एक विकेटको अन्तरले दर्ता गरेको थियो। तर, त्यसपछि नेपाल नामिबियासँग ६ विकेट र २३ रन तथा हङकङसँग दुई रनले पराजित भयो ।

बिहीबार एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रनको लक्ष्य प्रस्तुत गर्यो।

युगान्डाका लागि रिथ मुसामालीले सर्वाधिक ३८ रन बनाइन् भने इस्थर इलुकुले २२ तथा स्टेफिनी नामपिनाले अविजित १३ रनको योगदान दिइन्।

नेपालका लागि रिया शर्माले दुई विकेट लिँदा पूजा महतो, ईश्वरी विष्ट र रुविना क्षेत्रीले समान एक- एक विकेट लिए।

९२ रनको लक्ष्य पछ्याएको नेपाल १७. १ ओभरमै ५१ रनमा अलआउट भयो। नेपालका लागि कविता कुँवरले १२ तथा कप्तान इन्दु बर्माले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्। आजको चौथो हारसँगै नेपालको फाइनल यात्रा औपचारिक रूपमा समाप्त भएको छ ।