काठमाडौं - जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउको हल्का बर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ ।
उत्तरी शहर ओफुनातो वरपर एक हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै करिब चार हजार बासिन्दालाई आफ्नो घर खाली गर्न बाध्य पारिएको छ ।
यसले म्यानहट्टनको लगभग आधा क्षेत्रफललाई सखाप पारेको छ । यो सन् १९७५ होक्काइदोमा दुई हजार ७०० हेक्टर जलेको डढेलोपछिको सबैभन्दा ठूलो डढेलो हो ।
बुधबार भएको हल्का वर्षा र हिउँका कारण डढेलो नियन्त्रणमा राहत हुने अनुमान गरिएको छ । त्यहाँ बिहीबारसम्म थप पानी पर्ने अनुमान गरिएको छ ।
जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढेसँगै जापानमा गत वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएको थियो ।आगलागीबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरिएको अग्नि नियन्त्रक निकायले जनाएको छ ।


0 comment