काठमाडौं - उदयपुरमा हायस गाडीको ठक्करबाट गएराति स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार  प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा दसैं मनाउन काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्।

शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक श्रेष्ठ घाइते भएका थिए।

कटारी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

स्थानीयवासीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।