काठमाडौं - केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको फाइनलमा त्रिभुवन आर्मीलाई २-० ले पराजित गर्दै मच्छिन्द्रले तेस्रोपटक उपाधि जित्दै ह्याट्रिक गरेको छ ।

प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ पाएको छ । उपविजेता त्रिभुवन आर्मीले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझायो ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाएका छन् । फाइनल खेलको प्रमुख अतिथिका रुपमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेन्ड गोलकिपर जियानलुइजी बुफन थिए । यसैगरी प्रधानमन्त्री केपी ओली पनि पत्नी राधिकासहित खेल हेर्न रंगशाला पुगेका थिए ।