काठमाडौं- फिफा विश्वकप विजेता तथा इटालीका पूर्वकप्तान जियानलुजी बफोन नेपाल आइपुगेका छन्। उनलाई केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको फाइनल खेल हेर्नको लागि नेपाल आमन्त्रण गरिएको हो।

आयोजक राष्ट्रिय युवा संघ नेपालका अनुसार, बफोन आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

सन् २००६ को फिफा विश्वकप जितेका बफोन विश्व फुटबलका एक प्रमुख गोलकिपर हुन् र उनी १७६ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानी बनाएका छन्। बफोनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए र पाँच विश्वकप खेल्ने दुर्लभ रेकर्ड पनि राखेका छन्।

 

सुरुवातमा, ब्राजिलका रोनाल्डिन्हो र रोबर्टो कार्लोस जस्ता खेलाडीलाई ल्याउने योजना गरिएको थियो, तर उनीहरूको अनुपस्थितिमा बफोनलाई आमन्त्रण गरिएको आयोजकले जानकारी दिएका छन्। बफोनको नेपाल आगमनले नेपालको फुटबलमा थप महत्त्वपूर्ण मोड ल्याउने अपेक्षासमेत गरिएको छ।