काठमाडौं - इजरायलले आफ्नो युद्धविरामको अवधि ४२ दिन थप गरेको घोषणा गरेको छ। यो निर्णय युद्धविरामको पहिलो चरण समाप्त भएको दिनपछि गरिएको हो। 

सन् २०२५ को जनवरी १९ देखि सुरू भएको युद्धविरामको पहिलो चरण १ मार्च शनिबारको मध्यराति समाप्त भएको थियो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत, स्टिभ विटकोफको प्रस्तावमा इजरायलका प्रधानमन्त्री नेतन्याहूले सहमति जनाएका हुन्।

युद्धविरामको अवधि रमजान लगायतका महत्त्वपूर्ण चाडपर्वलाई ध्यानमा राखेर थपिएको जानकारी प्राप्त भएको छ। यसबीचमा दोस्रो चरणको युद्धविरामको विषयमा थप छलफल हुने बताइएको छ। 

बन्धकहरु मुक्त गर्ने क्रम नसकिएको हुँदा दोस्रो चरणको युद्धविराम गर्नुपर्ने पक्षमा हमास पनि देखिएको छ । सम्झौता बमोजिम बन्दीहरु रिहा नभएको भन्दै दुवैले एक अर्कालाई आरोप लगाउँदै आएका छन् ।