काठमाडौं - १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता यो वर्ष नहुने भएको छ । योसँगै प्रतियोगिताको मिति तेस्रो पटक सरेको छ। यसअघि चैत अन्त्यमा गर्ने तय भएको थियो।

दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति आगामी जेठका लागि तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो। यो प्रतियोगिता कर्णाली प्रदेशमा हुने तय भएको हो ।

त्यस्तै, बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी  राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघलाई निलम्बन गर्ने निर्णय गरेको छ।