काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी- युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उनको कार्यालयले निकायलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि आएको हो ।

सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मङ्गलबार पठाइएको दुई वाक्यको इमेललाई उद्धृत गरेका छन् । इमेलमा निर्णयको कारण बताइएको थिएन तर उनको पद ‘तत्काल लागु हुने गरी समाप्त’ भएको जनाइएको थियो ।

ट्रम्प प्रशासनले सहायता फ्रिज र स्टप- वर्क अर्डर (रोक्का र काम रोक्ने) लागू गरेपछि ४८ करोड ९० लाख डलरभन्दा बढी खाद्यान्न सहायता बिग्रने वा सम्भावित दुरुपयोगको जोखिममा रहेको उनको कार्यालयको प्रतिवेदनले चेतावनी दिएको थियो ।

प्रतिवेदनले लामो समयदेखि ‘महत्त्वपूर्ण चुनौतीहरू पहिचान गरेको र धोखाधडी, फजुल खर्च र दुरुपयोग रोक्न एजेन्सीको कार्यक्रम सुधार गर्न सिफारिसहरू प्रस्ताव गरेको’ बताएको छ ।

ट्रम्पले पहिले नै १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसकेका थिए । गत महिना आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले विश्वका सबैभन्दा धनी व्यक्ति र आफ्ना प्रमुख दाता एलन मस्कको नेतृत्वमा अमेरिकी सरकारका विभिन्न अङ्गलाई कम गर्न वा विघटन गर्न अभियान सुरु गरेका थिए ।

सबैभन्दा बढी निशाना युएसएडमाथि केन्द्रित छ । यो निकाय करिब १२० देशमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्दै विश्वभर अमेरिकी मानवीय सहायता वितरण गर्ने प्रमुख संस्था हो ।

डेमोक्रेटहरूले व्यवस्थापिकाको स्वीकृति बिना ट्रम्पले सरकारी निकायहरू बन्द गर्नु असंवैधानिक हुने बताएका छन् ।