काठमाडौं - थ्रीस्टार फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको दोस्रो खेलमा टाइब्रेकरमा थ्रीस्टार मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको नियमित तथा थप गरिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा थ्रीस्टारले ४- २ गोलले जित निकाल्यो । 

पेनाल्टीमा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लागेर गोल हुन सकेन । थ्रीस्टारका गोलकिपर सरिनले मछिन्द्रका आदित्य शाक्यको प्रहार रोक्न सफल भएपछि थ्रीस्टारले अन्तिम चारको यात्रा तय गरेको हो । मछिन्द्रका सनिश श्रेष्ठ र दिवाकर चौधरीको प्रहारले गोल गरे ।

थ्रीस्टारका लागि दिपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । प्रतियोगितामा मछिन्द्रले विभागीय टोली एपिएफ क्लबलाई पराजित गरी क्वाटरफाइनलको यात्रा तय गरेको थियो । थ्रीस्टारले भने सिधै क्वाटरफाइनल खेलेको हो । 

प्रतियोगिताअन्तर्गत सोमबार चर्च ब्वाइज र विभागीय टोली नेपाल आर्मी क्लबका बीच खेल हुने छ । यही फागुन ३ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद १२ लाख, उपविजेताले छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पाउने छन् ।