काठमाडौं - महिला टी- ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । आज भएको अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्यान्डले उपाधि चुमेको हो ।
थाइल्यान्ड ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अङ्कका साथ शीर्ष स्थानमा रह्यो । यस्तै नेदरल्यान्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार बेहोर्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । नेपाल भने प्रतियोगितामा अङ्क बिहीन रह्यो । नेपाल आफ्ना सबै ६ खेलमा पराजित भयो ।
नेपालले आफ्नो अन्तिम खेलमा थाइल्यान्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितर पहिला ब्याटिङ रोजेकी थिइन् ।
नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।
बलिङतर्फ थाइल्यान्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिइन् ।
बयासी रनको विजयी लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । थाइल्यान्डका लागि कप्तान नारुइमोल चाइवाईले अविजित २७, नान्नापत खोन्चरोएन्कले २३ तथा नाट्टाया बुचाथमले ११ रन बनाइन् । बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले दुई तथा पुजा महतोले एक विकेट लिइन् ।
नेपाल यसअघि नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो ।



0 comment