काठमाडौं - नेपाली सेनाले सेना दिवसको अवसरमा प्रधान सेनापति खुला म्याराथन-२०८१ आयोजना गर्ने भएको छ ।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले २६२औं सेना दिवसका अवसरमा फागुन १० गते प्रधान सेनापति खुला म्याराथन-२०८१ आयोजना गर्ने भएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख सेनानी नरेश केसीले ४२.१९५ किमि पुरुष खुला म्याराथन र हाफ म्याराथन २१ किमि महिला र पुरुष दुवैका लागि खुला रहेको बताए । उनले १० किमिको म्याराथन नेपाली सेनाका सैनिक अधिकृतहरु महिला र पुरुष दुवैका लागि रहेको पनि जनाए । उनले १० किमिको म्याराथन सेनाका विभिन्न तहमा कार्यरत कर्मचारी र काठमाडौं उपत्यकाका अवकाश प्राप्त सकलदर्जाका १२ कक्षासम्म पढ्ने छोरा-छोरीहरुले पनि भाग लिन पाउने उल्लेख गरे ।

उनले पाँच किमि वकथन प्रमुख अतिथि र आमन्त्रित व्यक्तिहरुका लागि राखिएको बताए । उनले ५ किमि सैनिक महाविद्यालय र विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले सहभागिता जनाउन पाउने बताए । प्रधान सेनापति खुला म्याराथन-२०८१ मा ३ हजार सहभागिता हुने अपेक्षा रहेको केसीले जनाए ।

प्रधानसेनापति खुला म्याराथन-२०८१ प्रथम हुनेले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । द्वितीयलाई २ लाख, तृतीय हुनेलाई १ लाख,चौथो हुनेलाई ५० हजार,पाँचौंलाई ३० हजार, छैंटौं २५ हजार, सातौं २० हजार,आठौं १५ हजार,नवौं १० हजार र दशौं हुनेलाई ५ हजार रुपैयाँ रहेको बताए ।

उनले २१ किमि हाफ म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैले ७५ हजार, द्वितीय ५० हजार र तृतीय ३५ हजार रुपैयाँ पाउने बताए । उनले १० किमि दौडमा प्रथम हुनेलाई १० हजार रुपैयाँ राशिको पुरस्कार रहेको पनि जनाए । म्याराथन तथा हाफ म्याराथन विजेताहरुलाई यामाहाको मोटरसाइकल तथा स्कुटर प्रदान गरिनेछ । सेनाकाअनुसार खुला म्याराथनमा भाग लिन निःशुल्क दर्ताको व्यवस्था गरिएको र माघ ३० गतेसम्म दर्ता गरिसक्नुपर्नेछ ।