काठमाडौं - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र आफ्नो निकट सहयोगी इजरायललाई लक्षित गरी अवैध र आधारहीन कार्य गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसी माथि कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
अमेरिकाको यो कदमले आईसीसी अनुसन्धानमा सहयोग गर्ने व्यक्ति र उनीहरूका परिवारहरूलाई वित्तीय र भिसा प्रतिबन्धहरू लगाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेदरल्याण्ड्सले ट्रम्पको आदेशप्रति खेद व्यक्त गरेको छ । दण्डहीनताविरुद्धको लडाइँमा अदालतको काम आवश्यक रहेको डच विदेशमन्त्री कास्पर वेल्डक्याम्पले भनेका छन् । तर इजरायलका विदेशमन्त्री गिदोन सारले भने ट्रम्पको कार्यकारी आदेशको स्वागत गरेका छन् ।
ह्वाइट हाउसले हेगस्थित आइसिसीले हमास र इजरायलबीच लज्जाजनक नैतिक समानता सिर्जना गरेको आरोप लगाइएको छ ।ट्रम्पको कार्यकारी आदेशमा आइसिसीको पछिल्लो कदमले खतरनाक नजिर स्थापित गरेको जसले अमेरिकीहरूलाई उत्पीडन,दुर्व्यवहार र सम्भावित गिरफ्तारीको पर्दाफास गरेर खतरामा पारेको भनिएको छ।
आदेशमा यस्तो घातक आचरणले संयुक्त राज्य अमेरिकाको सार्वभौमिकताको उल्लङ्घन गर्ने खतरा छ र संयुक्त राज्य अमेरिका सरकार र इजरायल लगायत आफ्ना सहयोगीहरूको महत्वपूर्ण राष्ट्रिय सुरक्षा र विदेश नीति कार्यलाई कमजोर पार्ने उल्लेख गरिएको छ ।
गत नोभेम्बरमा आइसिसीले नेतान्याहूविरुद्ध गाजामा भएको कथित युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो। आइसिसीले हमासका एक कमाण्डरका लागि पनि वारेन्ट जारी गरेको छ । अदालतका न्यायाधीशहरूले नेतान्याहू,उनका पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट र हमासका मोहम्मद डिफले कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधको आपराधिक जिम्मेवारी लिएको तर्कसंगत आधार'रहेको बताएका छन्।गत वर्ष इजरायलको हवाई आक्रमणमा डिफको मृत्यु भएको हमासले पुष्टि गरेको छ ।


0 comment