काठमाडौं - रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ ।

रुपन्देहीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइएको हो । ०८० जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्नयोग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेन्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक विनोद कुँवरले अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान हुने जानकारी दिए । फ्लड लाइट जडानसँगै रात्रिकालीन सयमयमा पनि खेल खेलाउन सकिने बताए ।

मैदानमा गत वर्षको फागुनयता एक सयभन्दा बढी खेल भइसकेको उनको भनाइ छ । नेपालको १९ वर्षमुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले सोही मैदानमा अभ्यास गरेको छ ।

भारतबाट पनि केही क्लबस्तरीय टिमहरु आएर खेलेको उनले जनाए । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको छ । मैदानका साथै अन्य भौतिक संरचनाका कामहरु पनि अगाडि बढिरहेको उनले बताए । तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा छ ।

अब प्यारापिट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने योजना रहेको जानकारी निर्देशक कुँवरले जनाए । -नान