काठमाडौं - नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला टी-२० आई क्रिकेट शृंखलामा बुधबार नेपालमाथि १० विकेटको विजय हात पारेको छ ।

नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा विनाकुनै विकेट क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सकी ओपनर फेबे मोलकिनोबरल ४८ तथा स्टिर कालिसले ९८ रन बनाइन् ।

स्टिरले ६८ बलमा ९८ रन बनाएकी हुन् । ६८ बलको सामना गरेकी उनले ११ चौका र दुई छक्कासमेत प्रहार गरिन् । फेबेले ४९ बलमा ४८ रन बनाइन् ।

नेपालविरुद्ध नेदरल्यान्ड्सको यो चौथो जित हो । बुधबार त्रिवि क्रिकेट मैदान टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य बनाएको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ६२ रन बनाउँदै नटआउट रहिन् । ५१ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन् ।

नेपालकी कविता जोशी पनि ७ रन बनाउँदै नटआउट रहिन् । नेपालकी ओपनर सम्झना खड्का ६ रन बनाएर पभेलियन फर्किएकी थिइन् । अर्की ओपनर ममता चौधरी १ रन बनाउँदै आउट भइन् । कप्तान इन्दु बर्माले ३७ बलमा ३९ रन बनाएर आउट भइन् ।

१७ बलको सामना गरेकी रुविना २० रन बनाउँदै पेभिलियन फर्किइन् । नेदरल्यान्ड्सका लागि आइरिसले सर्वाधिक २ विकेट लिदाँ क्यारलिन डी र हिथर सिगरजले समान एक-एक विकेट आफ्नो नाममा पारे । त्रिदेशीय शृंखलामा नेपालको यो लगातार पाँचौं हार हो । नेदरल्यान्ड्सले भने ५ मध्ये तीन खेलमा जित निकालेको छ । नेदरल्यान्ड्सले जितेको सबै तीन खेल नेपालसँग नै रहेको छ ।

यो जितसँगै नेदरल्यान्ड्सले उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । थाइल्यान्ड पहिलो चारै खेल जितेर तीन राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स र थाइल्यान्ड बिहीबार प्रतिस्पर्धा गर्नेछन् । नेपालले प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डको सामना गर्नेछ ।