काठमाडौं - भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका जाने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा मोदी अमेरिका जाने तयारीमा रहेका हुन् ।

जनवरी २७ मा दुई नेताबीच भएको टेलिफोन वार्ता भएको थियो । त्यसको केही समयपछि अमेरिकी राष्ट्रपतिबाट मोदीलाई यो निमन्त्रणा भएको हो । 

टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् ।

विशेष गरी दुई देशको महत्त्वपूर्ण व्यापार सम्बन्ध छ । द्विपक्षीय व्यापार सन् २०२३–२४ मा एक खर्ब १८ अर्ब अमेरिकी डलर नाघेको छ र भारतले ३२ अर्ब अमेरिकी डलरको व्यापार बचत हासिल गरेको छ ।

चीनको प्रतिरोध गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार भारत अमेरिकासँग व्यापारिक सम्बन्ध बढाउन र आफ्ना नागरिकहरूलाई कुशल श्रमिक भिसा प्राप्त गर्न सहज बनाउन उत्सुक छ ।

प्रधानमन्त्री मोदी र ट्रम्पबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध छ । दुई नेताबीचको यो मैत्रीपूर्ण सम्बन्धले विभिन्न वैश्विक मुद्दाहरूमा भारत र अमेरिकाको एकजुटता देखाएको छ ।