नेपाल क्रिकेट सङ्घ (क्यान) ले सम्झौता नवीकरण नगर्ने भएपछि प्रशिक्षक मोन्टी देसाईले सभ्य भाषामा नेपालीलाई धन्यवाद दिएका छन् । मोन्टीले आफ्नो दुईवर्षे कार्यकाल अविस्मरणीय रहेको र ऐतिहासिक उपलब्धिले भरिएको क्षणको रुपमा स्मरणसमेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेपालीलाई धन्यवाद दिँदै उनले लेखेका छन् ,‘प्रिय नेपाल यो बिदाइ होइन, यो धन्यवाद हो ।’ उनले सन् २०२३ जनवरी १० मा क्यानले दिएको अवसरलाई नेपाली क्रिकेटमा स्थायी प्रभाव पार्ने यात्राको रुपमा उल्लेख गरेका छन् ।

उनले त्रिवि मैदानमा नेपालले एसिया कप छनोट खेल्दा रुखमा चढेर र छातामुनि उभिएर समर्थन गरेको क्षण र मूलपानी मैदानमा नेपाल विश्वकप छनोट हुँदा दर्शकको भीडले दिएको उर्जा सधैं अविस्मरणीय रहेको पनि उल्लेख गरेका छन् ।

प्रशिक्षक देसाईको दुईवर्षे कार्यकालको समाप्तिसँगै क्यानले शनिबार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।मोन्टीले दुई वर्षमा नेपाली क्रिकेटलाई ठूलो सफलता दिलाएको र उनको योगदानप्रति क्यानले धन्यावाद दिएको थियो ।