जापानका अर्थमन्त्री कात्सुनोबु कातोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार महसुलको नीतिले विश्वव्यापी व्यापारमा पर्ने सम्भावित असरबारे जापान ‘गहिरो चिन्ता’ मा रहेको बताएका छन् ।
ट्रम्पले प्रमुख व्यापारिक साझेदारहरू क्यानाडा, मेक्सिको र चीनलाई लक्षित गर्दै भन्सार महसुल बढाएको घोषणा गरेका छन् ।
ट्रम्पले क्यानाडा र मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा हुने निर्यातमा मङ्गलबारदेखि २५ प्रतिशत भन्सार महसुल लाग्ने र चीनबाट आउने सामानमा थप १० प्रतिशत भन्सार महसुल लाग्ने बताएका छन् ।
यो घोषणाले ऊर्जादेखि अटोमोबाइल र खाद्यान्न आपूर्ति शृङ्खलामा उथलपुथलको खतरा निम्त्याएको छ ।
“यी भन्सार महसुलले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छन् भन्ने बारेमा हामी गहिरो चिन्तामा छौँ”, जापानी अर्थमन्त्री कातोले आज (आइतबार) फुजी टिभीको एक कार्यक्रममा भनेका छन् ।
कातोले विदेशी मुद्रा बजारमा ट्रम्पको भन्सार महसुल नीतिको सम्भावित प्रभावहरूको ‘पूर्ण मूल्याङ्कन’ गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।
गैरकानूनी आप्रवासी र फेन्टानाइलसहितका लागुऔषधको संयुक्त राज्य अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई सजाय दिने उद्देश्यले यी कदमहरू चालिएको ट्रम्पले बताएका छन् ।
चीन, क्यानडा र मेक्सिकोले भन्सार महसुलको जवाफ दिने तयारी गरेका छन् ।
बेइजिङको वाणिज्य मन्त्रालयले ‘सम्बन्धित जबाफी कदमहरू’ चाल्ने र विश्व व्यापार सङ्गठनमा वासिङ्टनविरुद्ध दावी दर्ता गर्ने बताएको छ ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो देशले जवाबी शुल्क लगाउने बताएका छन् भने क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ओटावाले पनि एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब छ अर्ब ६० करोड अमेरिकी डलर) मूल्यका केही अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने प्रतिक्रिया दिएका छन् ।
0 comment