काठमाडौं - पाकिस्तानी सेनाले देशको दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तमा भएका छुट्टाछुट्टै घटनाहरूमा ४१ जनाको मृत्यु भएको जनाएको छ ।

सेनाका अनुसार यी घटनामा १८ सैनिक र २३ विद्रोही मारिएका छन् ।

सेनाले यसलाई आतंकवादको कायरतापूर्ण कार्य भनेको छ ।

पहिलो घटना बलुचिस्तानको कलात जिल्लाको मङ्गोचर सहरनजिकै भएको थियो । जहाँ सुरक्षा बलहरूले विद्रोहीहरूले बाटो अवरुद्ध गर्न राखेको अवरोध हटाउने प्रयास गरिरहेका थिए । यस घटनामा धेरैजसो मृत्यु भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

आईएसपीआरका अनुसार सुरक्षा बलले यस घटनामा १२ ‘आतंककारी’ लाई मारेको छ । यस अवधिमा १८ सैनिक पनि मारिए ।

आक्रमणको जिम्मेवारी बलुच विद्रोही समूहले लिएको छ ।

अधिकारीहरूका अनुसार यसबाहेक, बलुचिस्तान प्रान्तमा भएको अर्को घटनामा सुरक्षा बलले ११ विद्रोहीलाई मारेको छ ।

प्राकृतिक स्रोतसाधनले धनी पाकिस्तानको यो प्रान्त इरान र अफगानिस्तानसँग सिमानामा छ । जहाँ दशकौंदेखि बलुच समूह र इस्लामिक विद्रोहीहरूबीच तनावपूर्ण अवस्था छ ।

विद्रोहीहरूले यहाँको प्राकृतिक स्रोतसाधनमाथि राजनीतिक स्वायत्तता र नियन्त्रण चाहेको बताएका छन् । उनले विगतमा सुरक्षा बलमाथि आक्रमण गर्दै आएका छन् ।

विद्रोहीहरूले त्यस क्षेत्रमा परियोजनाहरूमा काम गरिरहेका चिनियाँ नागरिकलाई पनि आक्रमण गरेका छन् ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी, गृहमन्त्री मोहसिन नक्वी र बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगटीले सुरक्षा बलमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।