काठमाडौं - राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामूहिक निर्वासन योजनाको अवज्ञालाई सजाय दिन पीडादायी शुल्क लगाउने धम्की दिएको केही घन्टापछि कोलम्बिया अमेरिकी सैन्य विमानमा पठाइएको निर्वासित नागरिकहरूलाई स्वीकार गर्न सहमत भएको छ ।

कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले यसअघि नागरिक विमान जस्ता ‘सम्मानजनक’ माध्यमबाट मात्र नागरिकहरूलाई फिर्ता लिने बताएका थिए भने आइतबार निर्वासित कोलम्बियालीहरू बोकेका दुई अमेरिकी सैन्य विमानहरूलाई फिर्ता पठाइएको थियो ।

ट्रम्पले ल्याटिन अमेरिकाको चौथो ठूलो अर्थतन्त्र कोलम्बियाविरुद्ध २५ प्रतिशतको कर छिट्टै ५० प्रतिशतसम्म बढाउने चेतावनी दिएपछि कोलम्बिया निर्वासित नागरिकलाई स्वीकार गर्न तयार भएको ह्वाइट हाउसले जनाएको छ ।

पेत्रोले सुरुमा प्रतिकार गर्न खोजेको र अमेरिकी उत्पादनहरूमा आफ्नै भन्सार महसुल लगाउने प्रयास गरेको तर आइतबारको अन्त्यसम्म उनी पछि हटेको बताइएको छ ।

कोलम्बियाका विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोले मध्यरातको पत्रकार सम्मेलनमा आफ्नो देशले ‘गतिरोध पार गरेको’ र फर्केका नागरिकहरूलाई स्वीकार गर्ने बताएका छन् ।

“कोलम्बिया संयुक्त राज्य अमेरिकाबाट फिर्ता गरिएका सबै गैरकानूनी कोलम्बियाली नागरिकहरूलाई अमेरिकी सैन्य विमानसहित कुनै सीमा वा ढिलाई बिना स्वीकृति दिन सहमत भएको छ”, ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ।”

साथै राष्ट्रपति ट्रम्पले विश्वका सबै राष्ट्रले संयुक्त राज्य अमेरिकामा गैरकानूनी रूपमा रहेका आफ्ना नागरिकहरूको निर्वासनमा पूर्ण सहयोग गर्ने अपेक्षा गरेको उल्लेख छ ।

ट्रम्पले कोलम्बियामाथि करको कार्यान्वयन स्थगित गर्ने बताएका छन् ।

ट्रम्पले अमेरिकी विमानस्थलहरूमा कोलम्बियालीहरूलाई थप छानबिन गर्ने वाचा समेत गरेका छन् । -एएफपी