काठमाडौं - विश्वकप क्रिकेटमा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शनले नेपालले सान्त्वना जित हासिल गरेको छ ।

मलेसियामा जारी आईसीसी यू-१९ महिला विश्वकपअन्तर्गत ‘प्लेअफ’ खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले पराजित गर्‍यो ।

शुक्रबार भएको खेलमा पहिले ब्याटिङ गर्दै घरेलु टोलीले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान पूजा महतोले अविजित २३ रनको इनिङ्स खेल्दा उनले मलेसियाको ४ विकेटसमेत लिएकी थिइन् । यस्तै रचना चौधरीले ३ , रिया शर्मा र सिमाना केसीले समान १-१ विकेट लिए । पूजाबाहेक अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्यान्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए ।