काठमाडौं - पूर्वराष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताएका छन् ।
त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सोमवारबाट सुरु भएको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० नेपाल कप क्रिकेटको उद्घाटन गर्दै यादवले यस्तो बताएका हुन् ।
उनले पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको बताए । उनले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताए ।
क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ । खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास व्यक्त गरे । उनले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।
पर्वराष्ट्रपति यादवले अहिले जलवायु परिवर्तनको असर कम गर्न, लागुऔषध नियन्त्रणमा लाग्न सबै एकजुट हुनुपर्ने बताए । उनले हमासले बन्दी बनाएका नेपालका विपिन जोशीको रिहाईको आग्रह गरे ।



0 comment