काठमाडौं - मलेसियामा आयोजना हुने आईसीसी यु- १९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको उद्‌घाटन गर्ने भएको छ ।

पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नेपालले बङ्गलादेश विरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ । उक्त खेल  नेपाली समयअनुसार शनिबार दिउँसो १२ः १५ बजेदेखि सुरु हुनेछ । 

गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको विश्वकपका लागि एसियाली छनोट खेल भएको थियो । उक्त खेलमा नेपाल विश्वकपका लागि छनोट भएको हो ।

त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो भने अन्तिम खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

विश्वकप छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु- १९ महिला एसिया कपमा समेत नेपाल सहभागी हुने अवसर पाएको हो । विश्वकपमा विभिन्न १६ राष्ट्रको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ । 

नेपालको समूहमा स्कटल्यान्ड, बङ्गलादेश र अस्ट्रेलिया छन् । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोलीमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन् । 

त्यस्तै तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।