भाइकिंग र विजाइन्टाइनकाल देखि दोश्रो विश्व युद्ध सम्म आइपुग्दा विभिन्न कालखण्डमा विभिन्न साम्राज्यहरुको उत्थान र पतन हुदै गएको कुरा इतिहासका पानाहरुले बताउदै आएको छ । जसमा पछिल्ला अवस्थामा आएर रोमन, पर्सिएन, टर्किस, मुगल र गुप्त साम्राज्यहरु विलाए भने अन्तमा बेलायती साम्राज्यलाई दोश्रो विश्व युद्ध पछिको स्वतन्त्रताको लहरले तितरवितर बनाए तापनि पूर्व बेलायती उपनिवेषमा रहेका राष्ट्रहरु अहिले कमन वेल्थको नाममा संगठित छन भने क्यानाडा र अष्ट्रेलियाले त बेलायती राजालाई नै आफनो राजा मान्दै आएको कारण ती देशहरुमा राष्ट्रपतिको सट्टा बेलायती राजाको प्रतिनिधिको रुपमा गभर्नर जनरल रहेका छन् ।

सन १७०० को अन्त्य र १८०० को शुरुवातसंगै फैलन शुरु भएको बेलायती साम्राज्यसंगै भारतीय उपमहाद्धिपमा रहेका बंगाल, अवध, मैसुर, मराठा अनि सिख साम्राज्यहरु क्रमस बेलायती भारतमा विलिन हुन पुगे । उपनिवेष भित्र पर्नु भनेको स्वतन्त्र राजनीतिक पहिचान मात्रै नभएर मौलिक सास्कृतिक मूल्य र मान्यता समेत गुमाउनु हो भनेर राम्ररी बुझेका राजा पृथ्वी नारायण शाहले त्यहि बेला गोरखा साम्राज्य फैलाउन शुरु गरे जुन बेला बेलायती उपनिवेष डढेलो जस्तै  गरी भारतमा फैलन शुरु भइसकेको थियो । जुनवेला बेलायतीहरु आफनो शासनको जग बंगालमा वसाल्न शुरु गरेका थिए त्यहि वंगालका अन्तिम नवाव मीर कासिमको मकवानपुर रक्षा गर्न आएको सेनालाई गोर्खाली सेनाले हराई मकवानपुरको सेन वंश विलय भई गोरखामा गाभिएको थियो । यो सन १७६२ अगष्टको कुरा हो ।
गोरखा साम्राज्यको विस्तारले नेपाल खाल्डोलाई छोडने कुरा पनि थिएन न त विना नेपालखाल्डो गोरखा साम्राज्य नै वन्न सक्तथ्यो । त्यहि कारण पृथ्वि नारायण शाहको साम्राज्य विस्तारले टुक्राटुक्रामा रहेको मल्ल साम्राज्यलाई निशाना वनाउनु कुनै आश्र्चयको विषय पनि थिएन । तैपनि सास रहुञ्जेल आश रहन्छ भने जस्तै नेपाल खाल्डो भित्रको शक्तिशाली मल्ल राज्य कान्तिपुरका अन्तिम राजा जय प्रकाश मल्लले गोरखाली साम्राज्यको विस्तारलाई रोकी आफ्नो देशको स्वतन्त्रता जोगाउन साम्राज्यवादी शक्ति बेलायतीहरुलाई गुहारे । कान्तिपुरको रक्षार्थ क्यापटेन किनलोकको नेतृत्वमा आएको बेलायती सेना र गोरखाली सेना वीच सिन्धुली गढीमा घमाशान युद्ध हुन गयो । बंगाली नवाव मीरकासिमको सेनाको नियति बेलायती सेनाले पनि भोग्यो । गोरखाली साम्राज्यको विस्तारलाई शक्तिशाली अग्रेजले पनि रोक्न सकेन । यो नोभेम्वर १७६७ को कुरा हो ।
पृथ्वि नारायणले आफ्नो जीवनकालमा  गोरखा साम्राज्यलाई पूर्णता  दिन भ्याएनन् । पाल्पाको सेन वंश लगाएत पश्चिमका राजा रजौटाहरुलाई गोरखा साम्राज्यमा विलय गराउने कार्य राजेन्द्र लक्ष्मी र बहादुर शाहको नायवीकालमा आएर पूर्ण भयो । यो एकिकृत नेपालको एकिकरण थिएन वल्कि गोर्खा साम्राज्य थियो जस्को उत्तरमा चिनिया हुंग वंश, पश्चिम दक्षिणमा सिख साम्राज्य, दक्षिणमा अवधको नवावको साम्राज्य र पूर्व दक्षिण बेलायती उपनिवेषमा भर्खरै विलय भएको बंगाल थियो । सन १८०२ ताका बेलायतले छापेको Map of Dominions of House of Gurkha ले यो कुरालाई प्रमाणित गरेको छ । बेलायती औपनिवेषिक साम्राज्यवादी शक्तिलाई परास्त गर्न सकेकै कारण गोरखा  साम्राज्यको उदय भएको थियो भनेर नकार्न कसैले पनि सक्तैन ।

अव कुरा रह्यो पृथ्वि नारायणले शुरु गरेको गोर्खा साम्राज्यको विस्तार थियो की नेपालको एकिकरण थियो भन्ने कुरा । अग्रेजले लेखेको इतिहासले यसलाई गोरखा साम्राज्यको विस्तार भनेको कुरा उनीहरुले छापेको सो नक्शाले प्रमाणित गर्दछ । तर अग्रेजले भनेको जस्तै हुन्थ्यो भने त्यस्को राजधानी काठमाण्डौ नभै गोरखा हुन्थ्यो होला । काठमाण्डौकी नेवारकी छोरी कुमारीको पाउमा शीर राख्न पृथ्वि नारायण शाह जादैनथे होला । राजनीतिक रुपमा त्यो गोरखा साम्राज्यको विस्तार भनिएता पनि खास अर्थमा त्यो नेपालको सास्कृतिक एकिकरण थियो । यहानिर खास हिन्दुस्तान भन्याको नेपाल पो रहेछ भनेर पृथ्वि नारायण शाहले आफैले भनेको कुरा मनन योग्य छ । बेलायतले तहस नहस गर्दै गरेको हिन्दु सस्कृतिको स्वतन्त्र पहिचान जोगाउने कार्य खास अर्थमा गोरखाले गरेको र सो गोरखाली सस्कृतिमात्रै नभै सिंगो नेपाली सस्कृति भएको कारण गोरखा साम्राज्यको उदय भन्नुनै नेपालको एकिकरण भनेर बुझनु पर्छ र इतिहासले इंगित गरेको सत्य कुरा पनि त्यहि हो । पृथ्वि जयन्ती र राष्ट्रिय एकता दिवसलाई हरेक नेपालीले यसै गरी बुझनु जरुरी छ ।