कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सचिवालयको स्थापना भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आज गरेको एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयको उद्‌घाटन गरेका हुन् ।

उनले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने उक्त प्रतियोगिताको तयारीको सुरुआत भएको बताए । 

खेलकुदमन्त्री चौधरीले प्रतियोगिता हुन तीन महिना बाँकी रहेकाले सो समयसम्म सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसक्ने बताए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेटको फाइल अर्थमन्त्रालयमा आजै पुगेको पनि उनले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गर्ने भनिएपनि त्यस विषयमा आगामी माघ ३ गते बस्ने बोर्ड बैठकले निर्णय गर्ने उनले बताए । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेललाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राथमिकतामा राखिने उनले उल्लेख गरे । 

खेलकुदमन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट राजीनामा दिने राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारीलाई कारबाहीमा केही छुट हुनसक्ने बताए । बोर्ड बैठकले सर्वोच्च र उच्च अदालतको आदेश विपरीत कार्य गर्ने सङ्घका पदाधिकारीलाई कारबाही गर्नसक्ने चेतावनी दिए । 

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा आवासीय समस्याका कारण २४ वटा खेल आयोजना गर्ने र बाँकी खेल अन्य स्थानमा गर्ने सम्भावना रहेको बताए ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म गर्ने तय भएको छ ।