काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ महिला टी-ट्वेन्टी विश्वकप २०२५ का लागि नेपाली टोलीको घोषणा गरेको छ ।
आगामी ५ माघबाट मलेसियामा हुने प्रतियोगिताका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।
उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनले सम्हाल्नेछिन् । क्यानले घोषणा गरेको टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आयोजनामा आगामी जनवरी १८ देखि २ फेब्रुअरी (५-२० माघ) सम्म हुने प्रतियोगितामा नेपालसहित १६ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगिता दोस्रो संस्करणमा नेपालको भने यो पहिलो सहभागिता हो । गत नोभेम्बरमा एसिया क्षेत्र छनोटको खेलमा यूएईमाथि ८ विकेटको जित निकाल्दै नेपाल विश्व कपका लागि छनोट भएको थियो ।
नेपालका लागि भने कुनै पनि स्तरमा महिला टिमको पहिलो विश्वकप अनुभवका रुपमा यो खेल रहनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन् । नेपालले आफ्नो उद्घाटन खेल ५ माघमा बंगलादेशको सामना गर्नेछ । यसका लागि नेपाली टोलीले तयारी भने कडा रुपमा गरिरहेको छ ।
दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्नेछ । नेपाल र स्कटल्यान्ड बीचको खेल माघ ७ गते हुँदा समूह चरणको अन्तिम खेलमा नेपालले ९ माघमा अस्ट्रेलियाको सामना गर्नेछ ।
समूह चरणपछि शीर्ष तीनमा रहने टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा दुई समूह हुनेछन् । ग्रुप १ मा समूह ‘ए’ का शीर्ष तीन राष्ट्र तथा समूह ‘डी’ का शीर्ष तीन देश रहँदा ग्रुप २ मा समूह ‘बी’ का शीर्ष तीन देश तथा समूह ‘सी’ का शीर्ष तीन राष्ट्र रहनेछन्।
नेपालले सुपर सिक्समा स्थान बनाए भारत, श्रीलंका तथा वेस्ट इन्डिजजस्ता मुलुकसँग खेल्ने मौका पाउनेछ । सुपर सिक्सबाट दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुई सेमिफाइनलका विजेताबीच २ फेब्रुअरी अर्थात २० माघमा फाइनल खेल हुनेछ ।
यस्तो छ नेपाली टोली :
- पूजा महतो (कप्तान)
- सोनी पाख्रिन (उपकप्तान)
- सना प्रविन
- ज्योत्सनिका मरासिनी
- कुसुम गोदार
- अलिसाकुमारी यादव
- सावित्री धामी
- करिष्मा गुरुङ
- तृष्णा विक
- किरणकुमारी कुँवर
- रिया शर्मा
- सिमाना केसी
- रचना चौधरी
- स्नेहा महरा
- अनु कडायत



0 comment