काठमाडौं - नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको छ।

कमिटिका सात जना उपाध्यक्ष निर्विरोध भएको छ। नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापाले उम्मेदवारी फिर्ता लिएपछि सात उपाध्यक्ष निर्विरोध भएका हुन्। उनीहरुले आज उम्मेद्वारी फिर्ता लिएका हुन् ।

उपाध्यक्षमा निर्विरोध हुनेमा ज्योति राणा, प्रकाश शम्सेर राणा, चतुरानन्द राज वैद्य, अनिल प्रसाद शर्मा, गोपाल सुन्दर लाल कक्षपति, दावा गुरूङ,अशोक रत्न बज्राचार्य रहेका छन् ।

यसैगरी महासचिवमा राजीव श्रेष्ठ,कोषाध्यक्षमा टासी घले,सहायक महासचिवमा रामजी बहादुर श्रेष्ठ निर्विरोध भएका छन् ।

तीन जना सचिव पनि निर्विरोध भएका छन् । भीम सिंह गुरुङ, रमेश प्रसाद शिवाकोटी, र राम कृष्ण श्रेष्ठ निर्विरोध भएका हुन् । पाँच जना सदस्यमा लाक्पा छिरिङ लामा, गीता राना,  मनिष जोशी, जितेन्द्र बहादुर चन्द र राम अवाले निर्विरोध भएका छन् ।

कमिटिको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ,उपाध्यक्ष तेज बहादुर गुरुङ र वर्तमान महासचिव निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी दिएका छन्। निर्वाचन शनिवार हुनेछ।
सोमवार उम्मेदवारी दर्ताका लागि समय तोकिएपनि सातदोबाटोस्थित एनओसी भवनमा अदालतको आदेशको पालना नगरेको भन्दै सरकारले प्रहरी परिचालन गरी प्रवेश निषेध गरेको थियो। 

जसका कारण भौतिक रुपमा उपस्थिति भएर मनोनयन पत्र दर्ता सम्भव थिएन । प्रहरी तैनाथ गरिएपनि अदालतको आदेश,युवा तथा खेलकुद मन्त्रालय र राखेपको निर्देशन विपरित एनओसीले निर्वाचन प्रक्रियालाई अगाडि बढाएको हो ।

एनओसीका अर्का उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले भने आदेश विपरित निर्वाचनमा भाग नलिने भन्दै निर्वाचन कमिटिलाई जानकारी गराएको बुझिएको छ ।

अन्तराष्ट्रिय ओलम्पिक काउन्सिलसँगको समन्वय र उसको निर्देशनमा अनलाइन मार्फत सोमवार नै मनोनयन दर्ता गरिएको एनओसीका अध्यक्ष श्रेष्ठले बताएका छन्।