काठमाडौं - फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिता आयोजक फिदिम स्पोर्टिङ क्लबका अनुसार विजेता टोलीले १० लाख ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेता टोलीले रु पाँच लाख पाँच ५५५ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका चार सहित १० फुटबल टोलीले सहभागिता जनाउने तय भएको आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका मच्छिन्द्र फुटबल क्लब, न्यूरोड टिम (एनआरटी) फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहभागी हुने भएका छन् ।
यस्तै आयोजकसहित विराटनगर सिटी फुटबल क्लब मोरङ, झापा–११ फुटबल क्लब झापा, न्यू स्टार क्लब सुनसरी, सहलेश युवा क्लब सिरहा र करसाङ्ग फुटबल क्लब भारत सहभागी हुने भएका छन् ।
आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका छन । त्यसअनुसार उद्घाटन खेलमा पुस ६ गते आयोजक फिदिम स्पोर्टिङ क्लब र करसाङ्ग फुटबल क्लब भारतका बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ ।
प्रतियोगितामा विजेता र उपविजेता टोलीका अतिरिक्त सर्वोत्कृष्ट खेलाडी तथा विधागत रुपमा उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुने छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्ने छन्भने सर्वाधिक गोलकर्ताले १५ हजार, प्रत्येक खेलका उत्कृष्ट खेलाडी (म्यान अफ दी भ्याच) ले १० हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै विधागत तर्फ उत्कृष्ट ठहरिएका गोलरक्षक, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उदयमान खेलाडीले १० हजारका दरले पुरस्कार प्राप्त गर्ने अध्यक्ष थापा मगरले जानकारी दिनुभयो ।



0 comment