काठमाडौं - रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाममा सम्पन्न दोस्रो ‘एनआरएनए इलाम गोल्डकप’ को उपाधि डिफेन्डिङ च्याम्पियन एनआरटीले चुमेको छ ।
‘प्रथम इलाम गोल्डकप’ को विजेता टोली एनआरटीले दोस्रो संस्करणको उपाधि पनि हात पारेको हो ।
आज भएको फाइनलमा एनआरटीले ३- ० गोल अन्तरले लिग विजेता चर्च ब्याइजलाई पराजित गरेको हो ।
एनआरटीले सेमिफाइनल खेलमा रेडस्टार झापालाई पराजित गरेको थियो भने चर्च ब्याइजले आयोजक रेडहर्सलाई हराएको थियो ।
उपाधिसँगै एनआरटीले १० लाख पुस्कार हात पारेको छ । उपविजेता चर्च ब्याइजले पाँच लाख प्राप्त गरेको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु ११ हजारले पुरस्कृत गरिएको तथा ‘म्यान अफ दी म्याच’लाई सात हजार पाँच सयले पुरस्कृत गरिएको सचिव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि इलाम नगरपालिकाले १० लाख प्रदान गरेको थियो भने तारा रोजु सापकोटा च्यारिटेबल ट्रष्टले दोस्रो पुरस्कारका लागि पाँच लाख उपलब्ध गराएको थियो ।
प्रतियोगिता सम्पन्न गर्दासम्म अनुमानित ९० लाख खर्च भएको आयोजकले जनाएको छ ।
यही मङ्सिर २२ गतेदेखि सुरु भएको एनआरएनए इलाम गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा बिजेता डिफेण्डिङ च्याम्पियन न्युरोड टोली (एनआरटी) र उपविजेता चर्च ब्वाइज युनाइटेड सहित सङ्कटा, त्रिभुवन आर्मी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गरेका थिए ।
गत वर्ष भएको पहिलो संस्करणको उपाधि न्युरोड टोली एनआरटीले नै जितेको थियो ।



0 comment