काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ ।
कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाण्डौँ गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो ।
काठमाण्डौका सुमित महर्जनले नटआउट ४०, गेरहार्ड इरस्मसले ३८, कप्तान करण केसीले २८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामी, नन्दर यादव, गुल्सन झा, जीशान मक्सूद र विपिन शर्माले १र१ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए । प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । काठमाण्डौँका गेरहार्ड इरस्मसले २ विकेट लिए ।
प्रतियोगितामाकाठमाण्डौँको यो पहिलो जीत हो । काठमाण्डौँ पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
एनपीएलमा आजै दोस्रो खेलमा अहिले दिउँसो विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स खेल्दैछन् । विराटनगर यसअघिका दुई वटै खेलमा पराजित भएको छ भने लुम्बिनीको यो पहिलो खेल हो ।
0 comment