काठमाडौं - अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उहाँ दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानुहुने छ । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा जानुहुनेछ । उहाँको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ । 

नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल- अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नुहुनेछ । 

पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षण लगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।