काठमाडौं - संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ ।
झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्य अनुसार उक्त परिमाणको सुपारीलाई ८ देखि १२ अर्बसम्म पर्छ ।
नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारी खेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार उन्मुख भएको सङ्घका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो ।
संसदीय समितिले डिएनए जाँच गरेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउनू भनेर अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको तर दुई वर्ष भइसक्दा पनि सुपारीको डिएनएन गर्ने अत्तोपत्तो नलागेको उहाँको गुनासो छ ।
वि. सं २०७९ साउन १३ गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन विकास समितिले डिएनए परीक्षणपछि मात्र सुपारी निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेको उहाँले बताउनुभयो । डिएनए परीक्षण गर्ने भनिए पनि हालसम्म प्रयोगशाला स्थापना भएको छैन ।
देशमा उत्पादित सुपारी निर्यातका लागि भारतले निश्चित कोटा तोक्ने गरेको छ । इण्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डिएनए गरेर देशभित्रै उत्पादन भएको प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो ।
डिएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसान बताउँछन् । गत वर्षदेखि सुपारी निर्यात भएको छैन ।
0 comment