काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय शिक्षा विभागद्वारा आज पाटनमा आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताउनुभयो ।
शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई समयसापेक्ष र विश्वस्तरीय बनाइनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले सबै तह र क्षेत्रमा उत्कृष्ट शिक्षा नीति तय गर्न बहस महत्वपूर्ण हुने बताउनुभयो ।
काँग्रेसले मुलुकको शिक्षा प्रणालीको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले शिक्षा ऐनको विषय चर्चामा रहेकाले यसका लागि पार्टीले पहलकदमी लिने उल्लेख गर्नुभयो ।
“क्याम्पसहरु विद्यार्थी अभावमा बन्द हुने अवस्थाको समस्या समाधानका लागि बहस उपयोगी हुनेछ, बहसबाट आएका निष्कर्ष कार्यान्वयनमा पार्टीले ध्यान दिनेछ, दक्ष र शिक्षित जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई सीपसँग जोड्नुपर्नेछ, यस्ता बहसले समग्र मुलुकको शिक्षा नीतिमा सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास छ”, सभापति देउवाले भन्नुभयो ।
पार्टीको शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरको नेतृत्वमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्व र विषयविज्ञले आ- आफ्ना धारणा र प्रस्तुतीकरण राखेका थिए ।
0 comment