काठमाडौं - हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका तय गरिएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका- १ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्कस्) मा ठूलो क्षति पुर्याएको थियो ।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो ।
दुई वटा डिस्याण्डर मध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको आयोजनाले जनाएको छ ।
यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिनेछ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ ।
दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रूमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ । यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ ।
वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।
0 comment