काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताउनुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो ।

“विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्व हाम्रो समाजको अडिग आधार हुन्”, उहाँले भन्नुभयो, “ती सभ्यताहरू अझै पनि हाम्रो आधुनिकताका यात्रामा गुञ्जिएका छन् ।”

प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढेको स्मरण गर्नुभयो । सन् १९१९ मा विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवाद विरोधी चौथो आन्दोलन सुरु भएको उल्लेख गर्दै उहाँले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्वपूर्ण मोड भएको आफूले पाएको बताउनुभयो ।

उहाँले लोकतन्त्र र जनताको खुसीका लागि आफ्नो खोज कठिनाइ र अवरोधको सामना गर्दा आफू अझ बलियो भएको बताउनुभयो ।

उहाँले हाम्रा पूर्वज केवल चिन्तक मात्र नभई आविष्कारक र दूरदर्शीसमेत भएको उल्लेख गर्दै उनीहरुको योगदान एसिया मात्र नभई संसारका लागि पनि एक धरोहर भएको बताउनुभयो ।