काठमाडौं - लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ ।

‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ मङ्गलबार बाँकेको खजुरामा औपचारिक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विषादी सचेतना अभियान सञ्चालन गरेको कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यमनारायण देवकोटाले जानकारी दिनुभयो । 

बढ्दो रासायनिक विषादीको प्रयोग, यसबाट मानव स्वास्थ्यमा हुने गम्भीर जोखिमलाई न्यूनीकरण गर्दै रासायनिक विषादीको विकल्प सहितको सचेतना कार्यक्रम सुरु गरेको देवकोटाले बताउनुभयो ।

कसैले जानेर त कसैले अन्जानमा विषादीको प्रयोग गरिरहेका हुँदा सुरक्षित विषादीको प्रयोग कसरी गर्ने र यसको जोखिमबाट कसरी बच्ने भन्ने विषयमा यो कार्यक्रम महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

बाँकेबाट यो कार्यक्रमको औपचारिक रूपमा सुरुआत गरिएको र हरेक जिल्लामा सम्बन्धित सरोकारवाला कार्यालयबाट वर्षभर यो कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ ।

अभियान अन्तर्गत हरेक सरोकारवालासँग भेटघाट, छलफल, विद्यालयका विद्यार्थी मार्फत सचेतना कार्यक्रमलगायत गतिविधि गरेर व्यापक जनचेतना फैलाइने जनाइएको छ ।