काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसंग जिल्ला अदालत चितवनमा आज पनि बयान लिईंदैछ ।

लामिछानेलाई साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा हिजो काठमाण्डौंबाट चितवन लगिएको हो । हिजो नै लामिछानेको बयान लिईएको थियो । हिजो बयानका क्रममा १५ वटा प्रश्नहरु सोधिएको बताईएको छ । गोरखा मिडियामा कुनैपनि सहकारीबाट पैसा लानमा आफ्नो व्यक्तिगत,कानुनी र संस्थागत भुमिका नभएको बयानका क्रममा उनले बताएको उनका निकट स्रोतले बताएको छ ।

यसअघि सभापति लामिछानेले काठमाण्डौं, पोखरा र रुपन्देहीमा बयान दिईसकेका छन् । चितवन चौथो जिल्ला हो ।

मंसीर ५ गते चितवनको साहारा सहकारीको बिषयमा रवि लामिछाने, छविलाल जोशी लगायतलाई पुरक उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जीका लागि दाबी गरेको थियो । जिल्ला अदालतले पक्राउका लागि स्वीकृति दिएपछि काठमाण्डौंमा रहेका उनलाई बयानका लागि चितवन लगिएको हो ।

चितवनको बयान सकेसम्म संक्षिप्त गरेर चितवनबाट फर्काउने तयारी गरिएको जानकारी प्राप्त भएको उनका निकटले बताएका छन् । चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि भएकोले सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सकेसम्म छिटो बयान सक्ने तयारी गरिएको बुझिएको बताईएको छ ।

आज राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले चितवनको चौबिसकोठीमा रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्दैछ ।

अस्ति काठमाण्डौं जिल्ला अदालतमा बयान सकिएपछि हिजो चितवन लगिएको हो ।

काठमाण्डौको स्वर्ण लक्ष्मी सहकारीको रकम दुरुपयोग आरोपमा गत बिहिबार लामिछानेलाई पोखराबाट काठमाण्डौं ल्याईएको थियो ।