काठमाडौं - वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ ।
जीर्ण भवन र जनशक्ति अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना बनाउन लागिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चुमनलाल दासले अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरेर व्यवस्थित गर्न गुरुयोजनाको काम अघि बढाइएको जानकारी दिनुभयो ।
अस्पतालको नयाँ आकस्मिक कक्ष, ल्याब, इको, अल्टासाउण्ड, फिजियोथेरापी लगायत सेवालाई व्यवस्थित गर्ने जमर्को गरिरहेको उहाँले बताउनुभयो । जीर्ण भएका भवनबाट सारेर अन्य सेवालाई एकीकृत गर्ने प्रयास जारी रहेको उहाँको भनाइ छ ।
उपचारका लागि आउने सेवाग्राहीलाई सहज गराउने उद्देश्यले काउन्टरलाई पनि व्यवस्थित गर्ने काम भइरहेको छ । अस्पतालमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी गरेर साढे तीन सयको हाराहारीमा कार्यरत छन् ।
0 comment