काठमाडौं - मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ ।
गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम भइरहेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गर्नुभएको छ ।
आज मध्यराति पर्यटनमन्त्री, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पर्यटन सचिव डा गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ को काम गरिरहेको हो । यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजना कार्यालयले जनाएको छ ।
विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माण तीव्र गतिमा भइरहेको भन्दै समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले ठूलो सङ्ख्यामा जनशक्तिसहित प्रभावकारी रूपमा उपकरणको परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई गुणस्तरीय र निर्धारित समयमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।
0 comment