काठमाडौं - विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ ।

महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु-१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज ३०/ ३० हजारसहित सम्मान गरेको हो । 

त्यसैगरी नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई ३० हजार नगदसहित दोसल्ला ओढाएर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्मान गर्नुभयो । 

खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरुको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताउनुभयो । 

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।