काठमाडौं - लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७- ३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो ।
आयोजनाले परीक्षणका रूपमा चार दशमलव दुई मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिनेछ ।
सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छवि गैरेले बताउनुभयो ।
टिमुरे (तातोपानी) स्थित विद्युत्गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर लामो एक सय ३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/ १३२/ ३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
उक्त विद्युत् चिलिमे- त्रिशूली र त्यहाँबाट त्रिशूली- काठमाडौँ दुई सय २० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे- त्रिशूली दुई सस २० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गत कात्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको थियो ।
रसुवागढीबाट उत्पादित विद्युत्बाट हिउँदयाममा काठमाडौँ उपत्यकाका हुने विद्युत् माग व्यवस्थापनका लागि सहज हुनेछ । सुक्खायाम सुरुसँगै भोटेकोशीमा पानीको बहाब घट्न सुरु भएसकेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछैन । हिउँदमा आयोजनाबाट ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ ।
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा विद्युत्गृह, बाँध, सुरुङ लगायत सिभिल संरचना र इलेक्ट्रोमेकानिकल काम गर्न चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनसँग ३० पुस २०७० मा ठेक्का सम्झौता भएको थियो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भोइथ हाइड्रो प्रालि भारतसँग १५ साउन २०७१ मा ठेक्का सम्झौता भएको थियो ।
वि.सं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँच मार्गमा निरन्तर खसिरहने पहिरो, कोभिड- १९को महामारीलगायत कारण आयोजनाको निर्माण प्रभावित भएको थियो ।
आयोजनाबाट गत चैतसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखी सम्पूर्ण निर्माण सम्पन्न गरिएको थियो । तर, आयोजनाको विद्युत् जोडिने चिलिमे- त्रिशूली दुई सय २० केभी प्रसारण लाइन निर्माण सम्पन्न गर्न केही समय लागेकाले विद्युत् उत्पादन केही ढिलाइ भएको हो ।
आयोजनाबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड आम्दानी हुने जनाइएको छ ।
0 comment