काठमाडौं - महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । 

हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु- १९ महिला टी- २० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ ।

काठमाडौँ हुँदै गत शुक्रबार आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका- ९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ । 

गएकै दिन पूजालाई कुशवाहा कल्याण समाजका अध्यक्ष विजयकुमार महतोसहितका पदाधिकारीले सम्मानपत्र र ५१ हजार नगद पुरस्कार प्रदान गरे । सोही दिन गौशाला नगरक्षेत्रका बस्ती बस्तीमा दीपावली गरेर नगरवासीले खुशी व्यक्त गरेका थिए ।

यसैगरी शनिबार र आइतबार दिनभरि पूजालाई भेट्नेको उनको घरमा घुइँचो लाग्यो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलदेखि जिल्लाका विभिन्न राजनीतिक दलका नेता, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न खेलका खेलाडी र सयौँ सर्वसाधारणले उनलाई बधाई दिँदै यु–१९ महिला टी- २० एसिया कप र विश्वकपको शुभकामना दिए ।

गत सोमबार पूजालाई एनपिएल टोली जनकपुरधाम बोल्ट्सले ‘फेस अफ दी बोल्ट्स’ को रुपमा सार्वजनिक गरेको छ । एक समारोहबीच उक्त टोलीले उनलाई ५० हजार पुरस्कार प्रदान गर्यो। सोमबार नै गौशाला नगरवासीले पूजा र उनका परिवारजनलाई रथमा राखेर नगरपालिकाका सबै बस्तीमा घुमाइएको थियो ।

अहिले उनलाई भेट्ने, बधाई सम्मान र पुरस्कार प्रदान गर्ने कार्यक्रमहरू चलिरहेका छन् । पूजासहित नेपाली महिला क्रिकेट टोलीको सफलताले उनका बुबा रञ्जित महतो औधी खुसी छन् । 

रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तान हुन् । जेठी छोरी अञ्जु बाहेक सबै क्रिकेट खेलाडी हुन् । पूजाको सफलताले कान्छी छोरी आरती र छोरा कृष्ण पनि क्रिकेट खेलप्रति अझ उत्साहित भएका छन् ।