काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिनुभएको छ ।
आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा उहाँले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागिपरेको छ । प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नेगरी काम गर्न आवश्यक छ । मन्त्रालयले वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन विशेष प्राथमिकतामा राखेको छ ।” स्वास्थ्यमन्त्री पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था समेत गरेको जानकारी दिनुभयो ।
संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुख अतिथि रहनुभएको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो ।
0 comment