काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने नवराज अर्यालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ । अर्यालले प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै आफू निर्मलाको हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताएका थिए ।
प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग सोमबार ‘जनता जान्न चाहन्छ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने बताएका थिए ।
तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनको दाबी थियो । उनीमाथि सीआईबीले मंगलबार नै सोधपुछ गरेर हाजिरी जमानीमा छाडेको ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । तर, घटनाको विवरण नै उनले गलत बताउने गरेका छन् ।
सीआईबीले थप अनुसन्धानका लागि आज बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआईबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । ‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्,’ उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौँ ।’
आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाई रहेको छ ।
“नवराजले भनेअनुसार कुनै विवरण नै मिल्दैन । गाडीमा भएकै बेला देखेको भन्छन् तर, कुनै कुरा पनि घटनासँग मेल खाँदैन” एसपी बोगटीले भने । निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो ।
0 comment