काठमाडौं - बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । 

जर्मन सहयोग नियोग (जीआइजेड) मार्फत काठमाडौँस्थित जर्मनीको दूतावासले एक करोड ४५ लाख रकम सहयोग गर्ने भएको नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिनुभयो। 

हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भएको भेटवार्तामा उहाँले खानेपानी आयोजनाको मर्मत सम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

आगामी केही दिनमा सहयता सम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगरप्रमुख ब्याञ्जूले बताउनुभयो । उक्त आयोजना पुनर्निर्माण गर्न तीन करोड ५१ लाख खर्च हुने उहाँको अनुमान छ ।

जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।