काठमाडौं - आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । 

घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । 

गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले पालिका भित्रका जुनसुकै टोल तथा घरका गर्भवतीलाई ‘बर्थिङ सेन्टर’ वा अस्पतालसम्म सुत्केरी गराउन तथा  सुत्केरी भइसकेपछि घरसम्म फर्कने व्यवस्थाका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको बताउनुभयो ।

आँधीखोला गाउँपालिकामा तीनवटा स्वास्थ्य संस्था छन् । आँधीखोला- ५ सेतीदोभानमा आँधीखोला आधारभूत अस्पताल, वडा नम्बर १ को पञ्चमुलमा पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर २ को चिलाउनेबासमा चिलाउनेबास स्वास्थ्यचौकी पनि छ । 

गाउँगाउँबाट चाहेको समयमा स्वास्थ्य संस्थामा पुग्न सार्वजनिक यातायातका साधन पाउन कठिन हुने भएकाले पालिकाले उपलब्ध गराउने निःशुल्क एम्बुलेन्स सेवाबाट गर्भवती, सुत्केरीले राहत महसुस गरेका छन् ।

पालिकाले गर्भवती र सुत्केरीका अलावा अन्य अतिविपन्न वर्गका बिरामीलाई पनि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको अध्यक्ष पौडेलले बताउनुभयो ।