काठमाडौं - नेपालमा विदेशी मुद्रा आर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ ।
पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु- काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ ।
वि.सं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताउनुभयो ।
गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ । नेपालमा भेनियर पत्ती सिधैँ भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाई बोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरु स्थापना भएका छन् ।
पछिल्लो २७ महिनामा काँकडभिट्टा नाकाबाट ७३ करोड ६४ लाख ३१ हजार मूल्य बराबरको भेनियर पत्ती र पाँच अर्ब १८ करोड ४१ लाख ६१ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको प्रमुख भन्सार अधिकृत चुडालले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा काँकडभिट्टा नाकाबाट १४ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको भेनियर पत्ती र नौ करोड ९३ लाख ३२ हजार मूल्य बराबरको प्लाई बोर्ड भारत निकासी भएको छ ।
नेपाल भेनियर उत्पादक सङ्घका अध्यक्ष दीपक पाण्डेले पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्रा आर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।
हाल नेपालमा एक सय २० भन्दा बढी सङ्ख्यामा भेनियर उद्योग सञ्चालनमा रहेको र त्यसबाट आठ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध भइरहेको उहाँले जानकारी दिनुभयो ।
झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग स्थापना भएका छन् ।
0 comment