काठमाडौं - वि.सं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेबाट सुरु गरेको ‘मेची- महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान- २०८१’ मङ्गलबार भक्तपुर आइपुगेको छ ।
यसवर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा भन्ने नाराका साथ सुरु भएको अभियानको टोलीलाई भक्तपुरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वको टोलीले स्वागत गरेको छ ।
मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजना सुरु अभियानमा आजसम्म देशभरबाट एक सय ७३ जना पुरुष, ४९ जना महिला र नौ बालबालिका सहित कूल २३१ जनाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
संस्था स्थापना भएको १२ वर्षमा पुरुष छ हजार छ सय ३७, महिला चार हजार ८२ गरी १० हजार सात सय २२ जनाको उद्धार गरिएको छ । साथै दुई हजार तीन सय ३६ पुरुष र एक हजार आठ सय ६५ महिला गरी कूल चार हजार दुई सय एक जनाको पारिवारिक पुनः मिलन गराएको अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
आश्रममा हाल एक हजार एक सय २१ पुरुष र सात सय ६९ महिला गरी कूल एक हजार आठ सय ९० जना आश्रित रहेको उहाँले बताउनुभयो । आश्रमले २७ जना भारतीय नागरिकलाई उद्धार गरी भारतमै पारिवारिक पुनः मिलन गराउन सफल भएको छ ।
0 comment